• Sun. Jul 21st, 2024

दुई साथीले ३० हजार रूपैयाँमा सुरू गरेको ‘कयो’

Bysaptahiksamachar

२८ माघ २०७७, बुधबार १५:०२ २८ माघ २०७७, बुधबार १५:०२ २८ माघ २०७७, बुधबार १५:०२

‘कयो’ अर्थात् नेवार भाषामा सेतो माटो। 

यही नामबाट नेपाली हस्तकला ब्रान्ड छ, कयो क्रिएटिभ स्टुडिओ। नाम माटोसँग जोडिएको भए पनि कयोले काठ, चाँदी, पित्तलजस्ता धातुमा काम गर्छ। झन्डै चार वर्षदेखि स्वदेशी तथा विदेशी ग्राहकको रोजाइअनुसार हस्तनिर्मित सामान बजार पुर्‍याइरहेको छ कयोले।

यसका संस्थापक हुन् दुई सहपाठी, साजन गोविन्द जोशी र प्रशन्न कुमार शाक्य। कक्षा छदेखिसँगै पढेका यी साथीको उमेर पनि मिल्छ, २८ वर्ष।

२०७४ सालतिर स्नातकोत्तर सकेपछि उनीहरूको नयाँ व्यवसाय सुरू गर्ने योजनासँगै खुलेको हो कयो। प्रशन्नले होटल व्यवसायमा स्नातकोत्तर गरेका छन् भने साजनले व्यवस्थापनमा। यी दुईको पढाइ क्षेत्र भिन्न भए पनि व्यावसायिक सोच एकै दिशामा बग्यो। 

‘हामी दुवैलाई केही व्यवसायमा हात हाल्नु थियो,’ कयोमा क्रिएटिभ डिजाइनिङ विभाग सम्हालिरहेका प्रशन्न भन्छन्, ‘सानैदेखि नेपालको शिल्प र विरासतप्रति आकर्षित थिएँ। पुराना कला र संस्कृतिलाई पारम्परिकभन्दा नयाँ शैलीले संरक्षण गर्न सकिन्छ भन्ने सोचले कयो सुरू गर्‍यौं।’ 

कयो सुरू हुनुको मुख्य उद्देश्य हाम्रो इतिहास र विरासत कलामार्फत संरक्षण गर्नु रहेको उनी बताउँछन्। यहाँका हस्तकला सामग्री हेर्दा विलासी मात्र होइन, हरेक सामानको शिल्पमा हाम्रो मौलिकता लुकेको छ। घाँटीमा लगाउने सिक्रीदेखि औंठी, ब्रासलेट, काठमा कुँदिएका नामदेखि पित्तलमा भरिएको बुट्टाले नेपाली संस्कृति र परम्परा झल्काउँछ। 

‘परम्परागत कामलाई आधुनिक रूपमा प्रस्तुत गर्ने हाम्रो प्रयास हो,’ प्रशन्नले भने।

प्रशन्नको पारिवारिक पृष्ठभूमि हस्तकलाकै हो। उनी अघिका दुई पुस्ता धातु कुँद्ने काममा संलग्न थिए। त्यसैले, उनलाई सानैदेखि नेपाली कलाले लोभ्यायो। सानैदेखि हस्तकलामा आकर्षित भए पनि पहिले उनको समय पढाइमै बित्यो। बुवाले गरिआएको काममा हात हाल्न फुर्सद मिलेन।

स्नातकोत्तर अन्तिम वर्ष हुँदा भने उनी ‘इन्टर्न’का लागि मलेसियाको अवानी गोल्ड कोष्ट होटल पुगे। त्यहाँ ६ महिना प्रशिक्षार्थी रूपमा काम सिके। फर्किएर लाजिम्पाटस्थित होटल इन र सांग्रिलामा गरी झन्डै ४ महिना ‘फ्रन्ट डेस्क’मा काम गरे। अनि उनको दिमागमा झिलिक्क बत्ती बलेझैं भयो।

‘त्यतिखेर बल्ल होटल क्षेत्र मेरा लागि होइन भन्ने महशुस भयो,’ ढिलै भए पनि आफ्नो रूचि बुझ्नसकेको प्रशन्न बताउँछन्। त्यसपछि, उनी आइइजी कम्पनीमा प्रडक्ट डिजाइनरका रूपमा नियुक्त भए। 

त्यही बेला प्रशन्नको आफ्ना बाल्यकालीन साथी साजनसँग सम्पर्कमा भयो। साजन स्नातक सकेलगत्तै पाटन औद्योगिक क्षेत्रको एक कम्पनीमा लेखा शाखामा कार्यरत थिए। उनीहरू दुवैलाई जागिरे जीवनबाट छुट्कारा पाउनु थियो। र, दुवैमा आफ्नै व्यवसाय सुरू गर्ने हुटहुटी पनि। 

‘कुरैकुरामा हस्तकला व्यवसाय गर्ने योजना बन्यो,’ कयोका प्रबन्धक निर्देशक साजन भन्छन्, ‘अनि बचतको थोरै लगानीबाट व्यवसाय सुरू गरिहाल्यौं।’

उनीहरू दुई मिलेर ३० हजार रूपैयाँमा कयो सुरू गरे र जागिर छाडे। व्यवसाय सुरू गर्न यो रकम कम थियो। त्यही पनि आँटे। आफ्नै कारखाना नभएकाले धातुका सामग्री बनाउन प्रशन्नका मामासँग सहकार्य गरे। उनका मामा गरगहना व्यवसायमा छन्।

उनीहरूले सुरूमा ग्राहकको अर्डरअनुसार नाम लेखिएका चाँदीका लकेट बनाए। त्यही पैसा अर्को सामानमा लगानी गरे। ‍यसरी गर्दै-सिक्दै दुई सहपाठीले २०७४, वैशाखदेखि बजारमा नयाँ ब्रान्ड भित्र्याए। उनीहरूलाई सुन्दा आकर्षक नाम राख्नु थियो। सल्लाहमा उनीहरूले साजनकी हजुरआमाको नाम राख्ने निधो गरे, कयो।

‘सानैदेखि हजुरआमासँग बढी घुलमिलिएँँ। उहाँको नाम राम्रो लागेर त्यसैलाई ब्रान्ड नाम बनायौं,’ यसमा प्रशन्नको सहमति मिलेको साजनले बताए। कयोमा रहेको सेतो शब्दले शुद्धता समेत बुझाउँछ। 

कयोमा ‘कस्टमाइज्ड’ (ग्राहकको रोजाइअनुसार) सामान बनाउने आइडिया प्रशन्नको पुरानो घरेलु व्यवसायका कारण जन्मेको हो। उनी जब स्नातकमा थिए, आमासँग मिलेर ऊनीका सामान बनाउँथे। आफ्नो ब्रान्ड बजार पुर्‍याउन उनीहरू दिनरात खटेको बताउँछन्। 

प्रशन्न पहिलेका दिन सम्झन्छन्, ‘परिवारको समर्थन मिले पनि व्यवसायमा नलागे हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो। आम्दानी नभएकाले के गरिरहेको छ र काम कहाँ पुग्यो भन्ने प्रश्न धेरै हुन्थे। व्यापारमा लगानी गर्छु भन्दा कसैले रोकेनन्। तर होटल व्यवसायमै निरन्तरता दिए हुन्थ्यो भन्ने धेरैले सोचे।’

अहिले बल्ल परिवार र आफन्तले उनलाई स्याब्बासी दिन थालेका छन्।

साजनको भने पारिवारिक पृष्ठभूमि नै व्यवसाय भएकाले सहज भयो, भन्छन्, ‘त्यहीँमाथि नयाँ कुरा सिक्न र क्राफ्टिङमा विशेष रूचि थियो मलाई।’ 

सुरूआती दिनमा कयोका ग्राहक नजिकका आफन्त र साथीभाइ भए। ग्राहकको डिजाइन अनुरूप कयोले बनाएका सामान इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा पोष्ट गरे। कयोलाई चिन्ने सानो जमात बन्दै गयो।

‘तर सुरूका ६ महिना व्यापार शून्य थियो,’ साजन भन्छन्, ‘त्यो समयलाई हामीले परीक्षण चरणका रूपमा लियौं। त्यसबीच बजार बुझ्ने काममा लाग्यौं।’

आधा वर्ष बितिसक्दा पनि व्यवसाय उँभो नलागेपछि उनीहरूले जुक्ति लगाए। त्यसताका चर्चित युट्युब च्यानल ‘प्याराडाइम टिभी’ जस्ता कार्यक्रमसँग सहकार्य गरे। साजनले भने, ‘केही समयपछि कयो खोज्दै ग्राहक आफैं आइपुगे।’ 

सुरूमा चाँदीको लकेट बनाएका उनीहरूले पछि कुकुरका लागि ‘डग लकेट’ पनि निकाले। बिस्तारै आफ्नो बजार बढाउँदै हातमा लगाउने ब्रासलेट, औंठी, सजावटका सामान बनाए। अहिले कयोले काठको ‘बो-टाइ’ समेत बनाएको छ। 

ग्राहकको रोजाइबाहेक कयोले आफ्नै उत्पादनमा पनि काम गर्छ। तर कयोलाई ग्राहक विस्तार गर्नुपर्ने भएकाले मागअनुसारकै सामान बनाउँदै गए। त्यसैले कयोको प्रगति श्रेय ग्राहकलाई दिन्छन् उनीहरू।

विभिन्न विभागमा गरी आठ जना कर्मचारीको सहयोग र दसभन्दा बढी ‘भेन्डर’सँग मिलेर कयोले काम गरिरहेको छ। भविष्यमा आफ्नै वर्कसप खोल्ने योजना सञ्चालकद्वयले बनाएका छन्। प्रायः अनलाइनबाट काम गर्ने कयोको स्टुडिओ ललितपुर, मानभवनमा छ। उनीहरूले नयाँ ठाउँमा पसल खोल्ने योजना बनाएका थिए, कोरोनाका कारण स्थगित छ।

नेपाली ब्रान्डका रूपमा कयोले स्वदेशी तथा विदेशी बजारमा आफूलाई पुर्‍याइसकेको छ। केही अघिसम्म यहाँका सामान चीन, जापान, पोर्चुगल र हङकङसम्म पुग्थे। अहिले नेपाली बजारमा सीमित छन्। योजना अनुरूप कयोले अमेरिकामा पसल र व्यवसाय विस्तार गर्नेछ।  

कयोको अर्डरमा पहिल्यैदेखि अनिश्चितता बढी हुने साजन बताउँछन्। भन्छन्, ‘कर्पोरेटहरूसँग सहकार्य गर्दा कहिले माग ह्वात्तै बढ्छ, कहिले खडेरी लाग्छ।’ 

ग्राहकका रोजाइका प्रायः डिजाइनमा उनीहरूले काम गरेका छन्, गरिरहेका छन्। कतिपय सामान भने बनाउन नसक्ने हुँदा अर्डरै नलिने प्रशन्न बताउँछन्। यहाँ धेरैले ‘ट्रेन्ड’ अनुसार सामान बनाउँछन् भने थोरैले आफ्नै नयाँ डिजाइन खोज्छन्।

धातु र काठको काम आफैंमा चुनौतिपूर्ण हुन्छ। अझ हातले काम गर्दा कतै बिग्रिहाले सुरूदेखि थाल्नुपर्छ। यस्तोमा केही ग्राहकले नबुझ्ने गुनासो उनीहरू राख्छन्। भन्छन्, ‘जस्तो डिजाइन देख्यो, ठ्याक्कै त्यस्तै सामान बन्छ भन्ने गलत सोचाइ छ। कतिपय सामान हेरेर मोडिफाइ गर्नुपर्छ। एक-एक कुरा मिलाउन बढी समय लाग्छ।’ 

आफूहरूबाट पनि यदाकदा गल्ती हुने साजनले खुलेरै सुनाए। डेलिभरी गर्दा कहिलेकाहीँ सामान अर्को पर्ने, नामका शब्द बिग्रिने, सामानबिनै बाकस मात्र जाने हुन्छ। यस्तोमा आफूहरूले गल्ती सच्याइहाल्ने उनले बताए।

अचेल साजन र प्रशन्न आफ्नै नयाँ हस्तकला डिजाइन बनाउन व्यस्त छन्। ती पनि नेपाली संस्कृति र कलासँग सम्बन्धित हुनेछन्। उनीहरूका अनुसार कयोका सामान निर्माणको आधार नै नेपाली कला, संस्कृति हुन्। भविष्यमा हस्तकलासँगै फेसन र जीवनशैलीका सामान पनि बनाउने योजना छ। 

‘कयोमार्फत सामान बनाउने मात्र होइन, नेपाली पहिचान र हराएका इतिहास ब्युँत्याएर संरक्षण गर्ने हाम्रो संकल्प हो,’ प्रशन्न भन्छन्, ‘अहिलेको पुस्तामा शिल्पकार र मूर्तिकार घट्दो छ। परम्परागत कुरालाई नयाँ शैलीले प्रस्तुत गरेर ती पेसा पनि सम्माननीय बनाउने प्रयास हो हाम्रो।’ 

(कयो क्रिएटिभ स्टुडिओको सम्पर्कः ९८४०३१६६१८)

साभार : setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *